शब्दकोश प्रविष्टि

रस

ना.
  1. आलो वा गिलो वस्तु निचोर्दा आउने द्रव पदार्थ; झोल ।

  2. वन्य जरीबुटीका पात, बोक्रा, डाँठ, जरा र फूलसमेत पाँच अङ्गलाई कुटेर निचोर्दा आउने तरल पदार्थ ।

  3. जरीबुटी, वनस्पति आदिलाई उसिनेर निकालिने सार; जरीबुटीको काँडा ।

  4. रुख–बिरुवामा घाउ लगाएर निकालिने खोटो, चोप आदि कुनै प्रकारको तरल पदार्थ; निर्यास ।

  5. प्राणीका शरीरबाट निस्कने रगत, दुध, वीर्य, पसिना आदि ।

  6. अमरता प्रदान गर्ने सुधा; अमृत ।

  7. रक्सी; मदिरा ।

  8. प्राणीले खाएको भोजन पाचनथैलीमा पुगी रगत बन्नुभन्दा पहिले बन्ने तरल पदार्थ; शरीरका सप्त धातुमध्ये एक ।

  9. जल; पानी ।

  10. तरल पदार्थ; पन्यालो वस्तु; द्रव ।

  11. पानीमा घोलिएको चिनी, मिस्री, नुन आदिको घोल; मिश्रित झोल ।

  12. खाद्य वस्तु जिभ्रामा पर्दा जिभ्राले अनुभव गर्ने अमिलो, नुनिलो, पिरो, गुलियो, टर्रो, तितोसमेत छ प्रकारको स्वाद; षड्रस; रसनेन्द्रियले प्राप्त गर्ने आस्वाद ।

  13. साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस ।

  14. कुनै वस्तुको सारतत्त्व; मुख्यतत्त्व ।

  15. आयुर्वेदीय पद्धतिअनुसार विभिन्न धातुहरूको भस्म बनाएर तयार गरिएको औषधी; रसादि ।

  16. पारो ।

  17. सिम्रिक ।

  18. कामव्यवहारमा रसबस गर्ने व्यक्तिले पाउने आकर्षण; आन्तरिक रुचि ।

  19. कुनै कार्य गर्दा मिल्ने आत्मसन्तुष्टि ।

  20. रसरङ्ग; रासक्रीडा; केलि ।

  21. गणितज्योतिषमा ६ अङ्कको नाम; ६ अङ्कलाई बुझाउने शब्द ।

  22. वास्तु तथा मूर्तिकलाअनुसार ६ अमलको नापोलाई बुझाउने शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047601
मुद्रित पृष्ठ
1063–1064